गृहमन्त्री लामिछानेलाई प्रश्न–तीनवटा फाइल खोल्न कसले रोक्यो ?
चितवन , ०४ असार । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कांग्रेस नेता जोडिएका तीनवटा फाइल खोल्न कसले रोक्यो भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गतको गृह र भौतिक पूर्वाधार मन्त्रालय शीर्षकको छलफलमा भाग लिन रोष्ट्रम पुगेका संसाद थानीले तीनवटा फाइल खोल्ने घोषणा के हुँदै छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । गृहमन्त्री रवि लामिछानेकाे सरकार बाहिर हुँदा केही गर्ने हुटहुटी अहिले पनि रहेको भन्दै थानीले कांग्रेस वा जोसुकैका फाइल खोलेर देखाउन चुनौती दिए ।
उनले भने, “तीनवटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन् । संसद्मा हुँदैनन् भन्नुभयो । तपाईंले भन्नुभयो– मुटु सिंहको जस्तो चाहिन्छ,” “ती तीनवटा फाइल के हो भन्नुपर्छ । किन ढिला गर्नुभएको छ । सार्वभौम संसद्को सदस्य भएको नाताले मलाई त्यो फाइलबारे थाहा पाउने अधिकार छैन ?” उनले अरुलाई फिस्टाको मुटु भन्ने गृहमन्त्री किन सुतेको भन्दै प्रश्न गरे । “अरुको फिस्टाको मुटु हो, मेरो सिंहको मुटु छ भन्दै हुनुहुन्थ्यो । तपाईं गृहमन्त्री किन सुत्नुभएको छ ?” प्रश्न गर्दै थानीले भने, “तपाईं कसलाई धम्क्याइरहनुभएको छ ? मलाई लाग्छ, तपाईंले सत्तामा हुनेसँग सल्लाह गर्नुभएको छ । त्यसैले तपाईंले कांग्रेसलाई धम्क्याएको हुनुपर्छ ।”
उनले नेपाली कांग्रेसले गत जेठ ७ गतेको बैठकबाट गरेको निर्णय सुनाउँदै त्यस्ता फाइलमाथि छानबिन थाल्न चुनौती दिए । “नेका संसदीय दलको ०८१ जेठ ७ को बैठकले निर्णय गरेको छ । तपाईंलाई खोज्न गाह्रो होला, निर्णय नम्बर ३ मा माननीय रवि लामिछानेले नेपाली कांग्रेसका विभिन्न नेताहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिको छानबिन र प्रमाणित गरेर देखााउन नेपाली कांग्रेस खुला रहेको यो बैठक ठहर गर्दछ,” थानीले प्रश्न गर्दै भने, “नेपाली कांग्रेस खुला छ । ताकत छ, कुन–कुन नेताको हुन् तीनवटा फाइल ? त्यो कुरा पनि मैले भन्दिनुपर्ने ?”
सांसद थानीले जीबी राईलाई आकाशमा भए पनि पातालमा भए पनि ल्याउँछु भनेका गृहमन्त्रीले आफैँ कुरा फेरेको भन्दै व्यंग्य गरे । जहाँ भए पनि ल्याउँछु भनेका गृहमन्त्रीले ५० दिनमा कुरा फेरेर जिम्मेवारीबाट पन्सिएको उनको भनाइ छ । “२०८० चैत १० गते जीबी राई आकाश होस् कि पाताल होस् समातेर ल्याउँछु भन्नुभयो । मैले मितिसहित भनेको छु । जीबी राई कहाँ जानुभयो ?” प्रश्न गर्दै सांसद थानीले भने, “५० दिनपछि भरतपुर विमानस्थगल पुगेर भन्नुभयो– जीबी राईलाई अघिल्लो सरकारले भगायो । कसले भगायो ? प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ, त्यसबेलाका गृहमन्त्री नारायणकाजी श्रेष्ठ तपाईंकै अगाडि हुनुहुन्छ । कसले भगायो जीबी राईलाई ?” उनले गृहमन्त्री भनेको यसरी नै कुरा फेर्ने व्यक्ति हो भन्दै प्रश्न गरे ।