एमालेको अझै १२ जिल्लाको अधिवेशन बाँकी, सचिवालयले निर्णय लिने
चितवन , ०५ असार । सत्तासिन दल नेकपा (एमाले) ले आफुले तय गरेको कार्यतालिका अनुसार अझै एक दर्जन जिल्लाको जिल्ला अधिवेशन समयमा गर्न सकेन । उसले जेठ मसान्तसम्म भूगोल र गैह भूगोलका गरी सबै जिल्लाका अधिवेशन सक्ने र असार १ गतेबाट संगठन शुद्धीकरण र सुदृढीकरण कार्ययोजना लागू गर्ने निर्णय गरेको थियो । तर अहिलेसम्म भूगोलका ७७ मध्ये ६६ र गैह भूगोलका ४ मध्ये तीन वटा जिल्लाको मात्र एमालेले जिल्ल अधिवेशन सकेको छ । अझै उसले भूगोलका ११ र गैह भूगोलका १ गरी १२ जिल्लाको अधिवेशन गर्न बाँकी रहेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिएका छन् । सुब्बाका अनुसार, अब कोशी प्रदेशका तीन जिल्ला इलाम, मोरङ, तेह्रथुम मा अधिवेशन हुन बाँकी छ । मधेस प्रदेशका सिराहा, सप्तरी र धनुषामा पनि अधिवेशन हुन बाँकी छ ।
त्यस्तै, गण्डकीको मनाङ, कर्णालीको डोल्पा, सुदूरपश्चिमको डोटी, बझाङ र अछामको अधिवेशन हुन बाँकी छ । गैरभौगोलिकतर्फ युवा विद्यार्थी जिल्लाको अधिवेशन बाँकी छ । पार्टीले बनाएको कार्ययोजना अनुसार तोकिएको समयसिमाभित्र अझै एक दर्जन जिल्लाको अधिवेशन हुन बाँकी रहेकोले अब ती जिल्लाको अधिवेशनबारे पार्टीको सचिवालय बैठक बसेर निर्णय लिइने निर्वाचन अयोग प्रमुख सुब्बाले जानकारी दिए । ‘अधिवेशन गर्न बाँकी रहेका जिल्लाका सन्दर्भमा अब बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्णय गर्नेछ,’ सुब्बाले भने ।