राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री
चितवन, १७ असार । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरूमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए । उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे । उनले भने, ‘भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएनछ भनेपनि पहिलो चरणमा २८ जिल्लाहरूमा नसक्दा पनि हामीले समय राखेका छौँ, भदौ मसान्तसम्म पनि यहाँहरूसँग समय छ ।
भदौ मसान्तसम्म भर्दा पनि तपाईँले प्राप्त गर्ने, राज्यले दिने सेवा, सुविधाबाट आम नागरिकहरू वञ्चित हुनु पर्दैन । कथम् कदाचित कसैको भदौसम्म पनि छुटेको रहेछ भने स्पष्ट पार्न चाहन्छु, राज्यबाट प्राप्त गर्ने सुविधाबाट नागरिकलाई राज्यले कहिलेपनि विमुख पार्दैन ।’ गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्षभन्दा माथिका वृद्धवृद्धा र बालबालिकाहरूका लागि विशेष व्यवस्था गरिने पनि बताए ।