जाँदाजाँदै रवि लामिछानेले भने- गृह मन्त्रालयमा मेरो नजर रहिरहन्छ
चितवन, ३० असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने बताएका छन् । आइतबार मन्त्रालयमा र विदाइ कार्यक्रममा बाेल्दै गृहमन्त्री लामिछानेले भने -‘जाँदा जाँदै म यति भन्न सक्छु । देशमा परिवर्तन चाहिएको भए, यदि जे चलिरहेको छ त्यो सही भइदिएको भए, जुन संयन्त्र चलिरहेको छ त्यही नै भइदिएको भए हामीले दैनिक गाली गलोज खाएर, आलोचना सहेर, अनेक किसिमका लाञ्छना सहेर यसरी नयाँ पुस्ता आउनुपर्ने थिएन ।’ गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु समेत उपस्थित कार्यक्रममा लामिछानेले ठूला दलहरु मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर खबरदारी गरे ।
‘प्रतिपक्षमा छु यसपटक विशेष जिम्मेवारीका साथ हुनेछ किनकी दुई ठूला दलहरु मिलेका छन्,’ लामिछानेले भने, ‘आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो नजर, मेरो मन २४ घन्टा रहिरहनेछ । गल्ती कहाँ गर्छ भनेर होइन, केके असल काम गर्न आँट गरेछ भनेर हेरिरहने छु ।’