सिसन बानियाँले खोले फिल्म कम्पनी
चितवन, ०७ साउन । चर्चित भ्लगर सिसन बानियाँले फिल्म निर्माण कम्पनीको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालबाट उनले फिल्म कम्पनी ‘रेन वेभ पिक्चर्स’को घोषणा गरेका हुन् । ‘फ्रिलान्सरको रुपमा वर्षौं बिताएपछि लगभग एक दशक युट्युब सामग्री, निर्माता, यात्रा भ्लगरको रूपमा काम गरें, ‘मलाई लाग्छ यो समय अब मेरो जीवनको सबैभन्दा ठूलो सपनातर्फ कदम चाल्ने समय हो । तपाईंहरु सबैसामु प्रस्तुत गर्छु- रेनवेभ पिक्चर्स’ सिसनले सामाजिक सञ्जालमा लेखेका छन् । सिसनले यसअघि फिल्म ‘होलटाइमर्स’ निर्माण गरिसकेका छन्। यो फिल्मलाई पूजा गुरुङ र विभूषण बस्नेतले निर्देशन गरेका छन् ।
यो कम्पनी पटकथा लेखक, छायाकार, अभिनेता, निर्देशक, निर्माताजस्ता महत्वाकांक्षी फिल्ममेकरलाई एकठाउँमा ल्याउने प्लाटफर्मको रुपमा रहने सिसनले उल्लेख गरेका छन् । आगामी जाडोयाममा अर्को एक फिल्म बनाउने पनि उनले बताएका छन् ।