सहकारीको रकम अपचलन गरेर विदेश भागेका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन
चितवन, १४ साउन । सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेकाहरुलाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईसहित १८ जनालाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो । छानबिन समितिका संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारीसम्बन्धी मुद्दामा जेल चलान भएकाहरुको बयान लिन सहजीकरण गरिदिन गृहमन्त्री लेखक समक्ष आग्रह गरे । सहकारीको बचत रकम हिनामिना गरी फरार भएकालाई पक्राउ गर्न आवश्यक प्रक्रिया थालिएको गृहमन्त्री लेखकले जवाफ दिए। सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरेर जेलमा राखिएकाको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने उनले बताए ।
यस्तै समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय गरेको छ । बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी थिए ।



















