शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन
चितवन, १७ साउन । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहेका उनि आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए । दुई साताअघि जन्मथलो फर्किएका उनले लहानस्थित अस्पतालमा डायलासिस गराई रहेका थिए । गुरुदेव निकट मानिने कवि मुकुन्द पौडेलका अनुसार पछिल्ला दिनमा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र तीन दिन अगाडिदेखि खाना खानसमेत छोडेका थिए । उनले भने, “गुरुदेवले तीन दिनदेखि केही खान सकेका थिएनन्। उनलाई चम्चामार्फत केही सामान्य झोलिलो खानेकुरा खुवाइएको थियो । केही समयअघि काठमाडौँ छाडेर उनि जन्मथलो फर्किएका थिए । जहाँ उनको जन्म भयो, त्यहीँ अन्त्य भयो ।”
साहित्यकार पौडेलसँगै कलाकार राधेश्याम विश्वकर्मा, गायक प्रभात सागरलगायतले गुरुदेवको मिर्गौला फेर्न आर्थिक समस्या भएको थाहा पाएपछि सहयोग जुटाउन पहल गरिरहेका थिए । दिवङ्गत भएका कामतको श्रीमती, तीन छोरा र एक छोरी छन् । उनको अन्त्येष्टि गाउँमै गरिने साहित्यकार पौडेलले जानकारी दिए । शास्त्रीय सङ्गीतका गुरु कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन्।