दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ
चितवन, १९ भदौ । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१ वर्षीया अस्मिता पौडेल रहेकी छिन् । उनलाई प्रहरीले बुधबार बिहान विर्तामोड नगरपालिका-५ पूर्वपश्चिम राजमार्गनजिक एभरेष्ट बैंकअगाडिबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । पौडेल भदौ १५ गते अपराह्न साढे ४ बजेपछि फरार भएकी थिइन् । सोही दिन सुन्दरहरैंचा-७ को केरा बगानमा उनका दुई जना छोरी मृत अवस्थामा फेला परेका थिए । एक वर्षीया आइङ्का र तीन वर्षकी छोरी अर्पनालाई विष सेवनपछि मृत अवस्थामा प्रहरीले फेला पारेको थियो ।
कार्कीका अनुसार पौडेलले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ। श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उनी छोरी लिएर घरबाट निस्केकी थिइन् । उनीहरू श्रीमान्-श्रीमतीबीच पटक-पटक घरायसी कुरामा विवाद हुने गरेको बुझिएको छ। पौडेललाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ । श्रीमानले नाबालिका छोरीको हत्या गरेको कर्तव्य ज्यान सम्बन्धी कसुरमा पौडेलविरूद्ध जाहेरी दिएका छन् । पौडेललाई मोरङ जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ ।