मेलम्चीको ४ वर्षमा ९औं पटक उद्घाटन
चितवन, २३ असोज । तीन महिनाअघि बन्द भएको मेलम्चीको पानी मंगलबारदेखि काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहानबाट सुरुङमा पठाइएको पानी वितरणको शुभारम्भ खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा गरेका थिए । मेलम्चीको पानी वितरणको उद्घाटन यो नवौं हो ।
मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गरेको चार वर्षर्मा खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकामा निरन्तर रूपमा पठाउने योजना बनाउन सकेको छैन । उद्घाटन र शुभारम्भ भने बर्सेनि भइरहेको छ । खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले एउटै पानी वितरणलाई निरन्तरता दिन नसकेपछि उद्घाटन र शुभारम्भ एकै वर्षमा दुई पटकसम्म गर्दै आएको छ ।
२०७७ असारदेखि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, खानेपानीमन्त्रीदेखि प्रधानमन्त्री, राष्ट्रपतिसम्मले मुहान र उपत्यकाका विभिन्न ठाउँमा पटक–पटक खानेपानी वितरण उद्घाटन गर्दै आएका छन् । हरेक खानेपानीमन्त्रीको एउटा स्थायी काम मेलम्चीको पानी वितरणको शुभारम्भ भएको छ । तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले त एउटै कार्यकालमा तीन पटक पानी वितरणको शुभारम्भ गरेका थिए ।
बाढीले मेलम्चीको हेडवर्क्स बर्सेनि पुर्ने गरेको छ । मुहानको मर्मत गरेर पानी वितरणको तयारी हुनेबित्तिकै हरेक हिउँदमा प्रधानमन्त्री वा मन्त्रीले उद्घाटन गर्छन् । अध्ययन भएको झन्डै तीन दशक र निर्माण सुरु गरेको २२ वर्षपछि २०७७ असारमा सुरुङमा मेलम्चीको पानी पठाउने स्वीच थिचेर सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उद्घाटन गरेका थिए । बाढीले मुहानमा क्षति पुर्याएपछि पुनर्निर्माण गरेर ०७७ फागुन ११ मा तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा, खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुनः सुरुङमा पानी पठाउने स्वीच थिचेर उद्घाटन गरेका थिए । ११ दिनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलस्थित प्रशोधन केन्द्र ‘फ्लसिङ टनेल’ को ‘हाइड्रोमेकानिकल’ को बटम थिचेर पानी खसालेका थिए । एक महिनापछि अर्थात् २०७७ चैत २० मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर उद्घाटन गरेकी थिइन् ।
२०७८ असारको बाढीले हेडवर्क्स पुरेपछि खानेपानी आपूर्ति बन्द भएको थियो । मर्मतपछि २०७८ चैत २९ मा तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले हेडवर्क्स पुगेर डाभर्सन सुरुङमा पानी पठाएर उद्घाटन गरेका थिए । त्यसपछि २०७९ वैशाख ११ मा तत्कालीन खानेपानीमन्त्री चौधरीले नै मीनभवनस्थित ट्यांकीमा पानी खोलेर फेरि उद्घाटन गरे । तर बाढीपहिरोले पुनः मुहान पुरिने डर बढेपछि एक महिनामै सुरुङ बन्द गरियो । २०७९ मंसिर २३ मा चौधरीले फेरि काठमाडौंको महांकालस्थित पानी वितरण केन्द्रबाट दोस्रो पटक वितरण सुरुवात गरेका थिए । फेरि ६ महिनापछि बाढीको डरले २०८० असारमा सुरुङ बन्द गरियो । त्यो वर्ष पनि बाढीले मुहान पुरिएको थियो । गत पुसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित आफ्नै कार्यालय परिसरमा बनाइएको धारा खोलेर पानी वितरणको उद्घाटन गरेका थिए । तर वर्षा सुरु भएसँगै गत असार दोस्रो सातादेखि मेलम्चीको पानी ल्याउन बन्द गरिएको थियो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाश राईले यस पटक विगतमा भन्दा तीन महिना अगावै सुन्दरीजलको प्रशोधन केन्द्रबाट उपत्यकाका तीनै जिल्लामा रहेका थोक वितरण केन्द्रमार्फत पानी वितरण सुरु गरेको बताए । अघिल्लो साताको बाढीले कीर्तिपुरलगायतका स्थानमा आंशिक रूपमा मात्र क्षति गरेकाले खानेपानी वितरण प्रणालीमा खासै अवरोध नआउने उनको भनाइ छ ।
उपत्यका आसपासका मुहान तथा वितरण प्रणाली बाढीपहिरोका कारण क्षति भएपछि दैनिक ६ देखि ७ करोड लिटर मात्र पानी वितरण हुँदै आएको थियो । केयूकेएलका अनुसार उपत्यकामा पानीको दैनिक माग करिब ४७ करोड लिटर छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । हिउँदमा दैनिक करिब २४ करोड लिटर पानी वितरण हुने केयूकेएलले जनाएको छ ।
वर्षात्मा पनि सुरुङ खाली नगरिएका कारण मेलम्ची मुहानबाट पठाएको केही घण्टामै सुन्दरीजलमा पानी झरेको मेलम्ची विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । उनका अनुसार मुहानस्थित मेलम्ची खोलालाई ढुंगा र गेग्रानले छेकेर पानी सुरुङमा पठाइएको छ । प्राविधिकहरूका अनुसार धेरै वर्षा भयो भने सुरुङको मुख पुनः बन्द गर्नुपर्छ । वर्षात्बाट क्षति हुन नदिन मुहानमा चौबिसै घण्टा कर्मचारी तैनाथ रहने व्यवस्था मिलाइएको छ । लामिछानेका अनुसार सिन्धुपाल्चोकको हेलम्बुबाट २६ किमि सुरुङमार्फत अहिले दैनिक २० करोड लिटरभन्दा बढी पानी सुन्दरीजल आएको छ । तर प्रशोधन केन्द्रको क्षमता १७ करोड मात्र भएकाले बाँकी पानी वाग्मती खोलामा पठाइएको छ ।
अघिल्लो साताको वर्षापछि आएको बाढीले उपत्यकाको पानीको स्रोतमा क्षति पुर्याएपछि मेलम्चीको पानी ल्याउन सरकारलाई दबाब परेको थियो । तर, २०७८ सालमा आएको बाढीबाट प्रभावित मुहान क्षेत्र हेलम्बुका बासिन्दा आन्दोलित थिए । उनीहरूले आफ्ना माग पूरा नभए पानी सुरुङमा पथान्तरण गर्न नदिने भन्दै लामो समयदेखि नाराजुलुस गर्दै आएका थिए । खानेपानीमन्त्री यादव सोमबार मेलम्ची मुहानमै गएर स्थानीयको माग पूरा गराउने लिखित प्रतिबद्धता जनाएपछि पानी सुरुङमा प्रवेश गराइएको हो ।
सरकारका तर्फबाट मन्त्री यादवको नेतृत्वमा मेलम्ची विकास समितिका अधिकारीहरू तथा स्थानीयका तर्फबाट हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा, स्थानीय संघर्ष समितिका अध्यक्ष पासाङ शेर्पासहितको राजनीतिक दलका प्रतिनिधिबीच सोमबार हेलम्बुमा वार्ता गरिएको थियो । बैठकमा हेलम्बुमा २०७८ सालमा आएको बाढीबाट प्रभावितको पुनःस्थापना, सडक, पुल, विद्यालय, साना उद्योगलगायतका भौतिक संरचना निर्माणमा सरकारको विशेष कार्यक्रममार्फत सहयोग रहने सहमति भएको छ । वार्तामा गरिएको सहमति कार्यान्वयनमा आफू इमानदारीपूर्वक लाग्ने मन्त्री यादवले बताए । हेलम्बुका अध्यक्ष निमाग्याल्जेनले सरकारलाई विश्वास गरेर फेरि एक पटक सहमति गरेको बताए । लिखित रूपमा गरेको सम्झौता कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रने उनको भनाइ छ ।