अदालत परिसरमा रविले भने- केपी ओलीको शासन रहेसम्म देशमा अपराध भइरहन्छन्
चितवन, ०४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास रहेको बताएका हुन् ।
‘मलाई अदालतले न्याय दिनेमा निर्धक्क छु । तर, यो सरकारको विरुद्ध देशभरिबाट उत्रिनको लागि सबैमा आह्वान गर्दछु । मेरो लागि होईन । तर, केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ । त्यसकारण यो अधिनायवादी सरकारको विरुद्ध चाहीँ यही बेलामा देशैभरिबाट जो जो जहाँ जहाँ हुनुहुन्छ, मेरो लागि होईन, देशको लागि बाहिर निस्किनुपर्ने बेला आउनसक्छ, उनले भने ।
अहिलेको सरकार रहुञ्जेलसम्म यस्तै हर्कत गरिरहने उनको टिप्पणी छ । उनले भने,‘झुठा मुद्दामा मान्छेलाई फसाउने काम भैरहन्छ । केपी ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भैरहन्छन् ।” उनले भ्रष्टाचारीलाई पालेर र भ्रष्टाचारको जगमा उभिएर अरुलाई सहकारी ठग भनेर झुटो मुद्दा लगाउने भन्दै आक्रोश पोखे ।
उनले आफूलाई जस्तै डेढ वर्ष समय लगाएर छानबिन गर्ने हो भने सबैभन्दा बढि भ्रष्टाचारको जगमा उभिएको मान्छे नै केपी ओली हुने दाबी गरे ।