सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री– अध्यादेश ल्याउने अहिले कुनै तयारी छैन
चितवन, ०७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलहरु विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याउनेबारे अहिले कुनै तयारी नभएको सत्तासाझेदार दलहरुलाई जानकारी गराएका छन् । बुधबार बसेकाे सत्ता गठबन्धनको बैठकमा अध्यादेशको विषयमा कुरा उठेपछि त्यस्तो कुनै तयारी नभएको प्रधानमन्त्रीले प्रष्टीकरण दिएका हुन् ।
‘सरकारले आवश्यक परे ल्याउन सक्छ तर त्यस्तो कुरा अहिले हामीले गरेका पनि छैनौं,’ ओलीले बैठकमा भने। कानुनको शून्यता अहिले रहे पनि त्यसको तयारी नभएको भनेर आफूले विपक्षी दलका नेताहरुलाई समेत भनेको ओलीको भनाइ थियो।
यसअघि बिपक्षी दलका नेताहरुले ज्ञापनपत्र बुझाउँदा अध्यादेशको कुरा उठाएको भन्दै प्रधानमन्त्री ओलीले त्यसबारे अहिले कुनै छलफल नभएको जानकारी गराएका थिए।
आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए।





















