घुमघामको याम : गण्डकीमा कहाँकहाँ घुम्ने ?
चितवन, १९ कार्तिक । घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले यो समयमा घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ । कोही परिवारसहित त कोही साथीसङ्गी मिलेर घुमफिर गर्ने प्रचलन अचेल बढिरहेको छ ।
कुनै बेला विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि यो याममा उल्लेख्य हुन्छ । तपाईं पनि यो शरदमा घुमफिरको योजनामा हुनहुन्छ भने गण्डकी प्रदेशमा रहेका पर्यटकीयस्थल यहाँका लागि उपयुक्त हुन सक्छन् ।
प्रकृति, संस्कृति र साहस (नेचर, कल्चर र एडभेन्चर) लाई गण्डकी प्रदेशको पर्यटनको मूल आधार मानिन्छ । पोखरालाई पर्यटकीय राजधानीसमेत घोषणा भइसकेको स्थितिमा यहाँ हुने पर्यटकीय गतिविधिले मुलुककै पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्छन् । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै बामे सरेको यस क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ ।
नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै ५० प्रतिशत पर्यटकले गण्डकी प्रदेशको भ्रमण गर्ने गरेको सरकारी तथ्याङ्क छ । यहाँ भित्रिने आन्तरिक पर्यटकको कुनै लेखाजोखा नभए पनि पर्यटकीय शहर पोखरा अधिकांश नेपालीको पहिलो रोजाइ बन्ने गरेको छ । विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्ग, मुस्ताङ उपत्यका, ढोरपाटन सिकार आरक्ष, मनास्लुलगायत गन्तव्यस्थल गण्डकीका पर्यटकीय वैभव हुन् ।
नेपालको पर्यटकीय छविलाई विश्व पर्यटन बजारमा स्थापित गरेका यी गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक घुमघामका लागि आउने गर्छन् । समुन्द्री सतहदेखि एक सय तीन मिटर उचाइमा रहेको नवलपुरको त्रिवेणीदेखि आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालसम्म फैलिएको यो प्रदेश प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले भरिएको छ ।
प्राचिन धर्म, कला र सभ्यताको पनि जननी मानिन्छ, गण्डकी प्रदेश । मिश्रित जातजाति र धर्मवालम्बीहरूको बसोबास रहेको यो प्रदेश सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी गण्डकीका साँस्कृतिक धरोहर हुन् । यहाँ रहेका माछापूछ्रे, अन्नपूर्ण, धवलागिरि, मनाश्लु जस्ता हिमशृङ्खा, नदी, तालतलैया, झरना आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् ।
संसारकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल, तालतलैयाको शहर पोखरा, शालिग्राम पाइने एक मात्र नदी कालीगण्डकी आदिले गण्डकी प्रदेशको गौरव बढाएका छन् । मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, बागलुङ कालिका भगवती, गलेश्वरधाम, देवघाट, सेतीवेणी, त्रिवेणीधामलगायतका पवित्रस्थलले धार्मिक गन्तव्यको चिनारी बोकेका छन् ।
मध्यकालीन शाहवंशीय इतिहासको साक्षी गोरखा दरबार, उपल्लो मुस्ताङको प्राचिन लोमान्थाङ दरबार र मुक्तिनाथ क्षेत्रका गुफालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको छ । साहसिक पर्यटन गतिविधिमा पनि गण्डकीको नाम अघि आउँछ । पवर्त र बागलुङमा पर्ने विश्वकै दोस्रो अग्लो बन्जी, प्याराग्लाइडिङ, क्यानोनिङ जस्ता साहसिक खेलले यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । देशकै पहिलो पर्यटन गाउँ सिरुबारी पनि यही प्रदेशमा पर्छ ।