चितवनमा बस र माइक्रो ठक्करखादा ४ जनाको मृत्यु ,२ जना गम्भीर घाइते
चितवन, २३ कार्तिक । चितवनमा यात्रुबाहक बस र ईलेक्ट्रीक माइक्रोबस ठक्करखादा ४ जनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ३ बजे नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्रकिलोमा बस र माइक्रो एक आपसमा ठक्कर खाएको हो । मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको बा.प्र. ०६-००१ ज ०२९८ नम्बरको ई.भि. माइक्रो र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस ठक्कर खाएको हो ।
उक्त दुर्घटनामा परि माइक्रोमा सवारी चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुमध्य एकजनाको मात्रै सनाखत भएको छ । माइक्रोमा सवार गोर्खा जिल्ला आरुघाट गाउँपालिका वडा नम्बर १ मान्बु निवासी अन्दाजी वर्ष ४० को राज बहादुर गुरुङको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नामथर ठेगाना नखुलेकी अन्दाजी बर्ष ४० कि महिला, अन्दाजी बर्ष ३२ र अन्दाजी बर्ष ३५ को पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि माइक्रो चालक र अर्का एक यात्रु गम्भीर घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले बस चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ४४ को सुर्य बिक्रम बिष्टलाई नियन्त्रणमा लिएको छ ।