बालेन एमालेविरुद्ध परिचालित छन् : शंकर पोखरेल
चितवन, ०८ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् । काठमाडौं महानगरपालिकाले एमालेले दरबारमार्गमा सभा गरेर फोहोर गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना तिराउने पत्र पठाएपछि महासचिव पोखरेलले मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने प्रस्ट भएको आरोप लगाएका हुन् ।
कार्यक्रमस्थल एमालेकै स्वयंसेवकले सफा गरिरहँदा जरिवानाको पर्चा पठाउनुले बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने बुझ्न सकिने महासचिव पोखरेलको भनाइ छ । ‘काठमाडौं महानगरका मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ,’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।
महासचिव पोखरेलले कार्यक्रम सकिएपछि आयोजकले नै कार्यक्रमस्थल सफा गरेको र संकलित फोहोर उठाउन महानगरसँग गाडी मागिएको पनि बताएका छन् । एमालेको अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो काठमाडौं महानगरपालिकाले मेयर बालेनको निर्देशनमा जरिवानाको प्रचार गगरिएको उनको आरोप छ । ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहोर उठाउन महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा,’ उनले भनेका छन्, ‘जतिबेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो, त्यतिबेला स्वयम्सेवकहरू कार्यक्रम थलोमै फोहोर संकलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम सँगसँगै जारी नै थियो ।’
महासचिव पोखरेलले मेयर बालेनको ध्यान सरसफाइमा नभएर जरिवानाको स्टन्टबाजीमा भएको आरोप पनि लगाएका छन् । ‘मेयरको ध्यान सरसफाइमा होइन, जरिवानाको स्टन्टबाजीमा थियो । जुन समयअगावै सार्वजनिक गरियो,’ उनले भनेका छन्, ‘एमाले आफ्नो कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरणसभा यस प्रकारका स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो ।’
शुक्रबार दरबारमार्गमा जागरणसभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको पत्र सार्वजनिक गरेको थियो । काठमाडौं महानगरपालिकाले एमालेलाई फोहोर मैला व्यवस्थापन ऐन -२०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन- २०८१ अनुसार एक लाख रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । योसँगै एमालेले अब महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।