लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोह आज
चितवन, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज हुँदैछ । समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी जाँदैछन् ।
समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति समेत रहेका ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुनेछन्। अाज विभिन्न तहमा अध्ययन पूरा गरेका एक विदेशीसहित २ सय ८९ विद्यार्थी दीक्षित हुँदै छन् ।
लुम्बिनीबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका एक बेलायती नागरिक पनि दीक्षित हुँदै छन् । उनीबाहेक स्नातकोत्तर तहका १ सय ८६, स्नातकका ८८, विद्यावारिधी पूरा गरेका ७ र पीजीडीका ८ विद्यार्थी दीक्षित हुनेछन् ।
विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ ।
यस्तै, बौद्ध शिक्षा, धर्म दर्शनको प्रवर्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान पनि गरिनेछ।।