रोल्पामा झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु
चितवन, १६ मंसिर । रोल्पामा झोलुंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुर्दा ५ जनाको मृत्यु भएको छ।
रोल्पा जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खनी पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेर लाग्दा ५ मजदुर पुरिएका हुन्।
मृत्यु हुनेमा सुनछहरी गाउँपालिकाकै वडा नम्बर ३ बाहिरी गाम बस्ने वर्ष ४५ का दुजमन परियार, सोही ठेगानाका वर्ष ३१ का ओम परियार, वर्ष ४० की सुबित्रा परियार, वर्ष २७ की आइती परियार र वर्ष ६६ का देवीराम परियार रहेका छन् ।
बिहान १०ः२० बजे मानिसहरु पुरिएको खबर पाएपछि सो स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।
पाँचै जनालाई माटोको ढिस्कोले पुरिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।