प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै ओलीविरुद्ध प्रमाण दिएका हुन्
चितवन, २७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्। प्रसाईंले सरकारी वकिल कार्यालय काठमाडौंले लिएको बयानमा यस्तो बताएका हुन् ।
बयानमा प्रसाईंले भनेका छन्, ‘एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरेका थिए। खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए। त्यसो भए तपाईसँग के प्रमाण छ भनि उनलाई सोधपुछ गर्दा खड्गप्रसाद शर्मा ओली बिजनेश फोरमका लागि १४ मे, २०१९ मंगलबार कम्बोडियामा जाँदा भाग लिएको अवस्थाको भिडिओ र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेका थिए, ‘त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाइदेऊ भनेकोमा उनले पठाइदिए। यो प्रमाणहरू मैले बनाएको कागजात, भिडिओ तथा फोटोहरू होइन।’
प्रसाईंमाथि आफैँले नक्कली कागजात बनाएर प्रधानमन्त्री ओलीविरुद्धको कागजात प्रसारण गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।