गाडी आयात गर्नुभन्दा निर्माण कम्पनी सञ्चालन गर्नुपर्छ : मन्त्री दाहाल
चितवन, ३० मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गाडी आयातभन्दा उत्पादन गर्ने कम्पनी निर्माण गर्नुपर्ने बताएका छन् । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औँ साधारण सभामा बोल्दै नाडा अटो मोबाइल्सले अर्थतन्त्रलाई माथि पुर्याउन महत्त्वपूर्ण योगदान रहेको भन्दै उनले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिइएको भन्दै प्रशंसा गरे ।
‘नेपालको अर्थतन्त्रमा नाडाको महत्त्वपूर्ण योगदान रहेको छ । नेपालमै गाडी उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छ,’ उनले भने,‘नेपालमा गाडी आयात होइन निर्माण गर्ने कम्पनी सञ्चालन गरिनुपर्छ । बाटाघाटा उपर्युक्त भएनन् भने सरकारले सहज गरिदिन्छ ।’
गाडी आयातभन्दा उत्पादनका लागि भौतिक पूर्वाधार सहज बनाइदिने प्रतिबद्धता समेत उनले जनाए । ‘हामीले रोडसेफ्टीमा ध्यान दिन थालेका छौँ । गुणस्तरीय सुरक्षित सडक निर्माण र वातावरणमैत्री पूर्वाधार निर्माणमा पहल गरेका छौँ’ उनले भने । मौद्रिक नीति र वित्त नीति व्यवसायीमैत्री आउनुपर्ने समेत उनले बताए ।