शान्ति प्रक्रिया राजनीतिक कारणले अड्किएको दावी गर्दै प्रचण्डले भने – सडकमा जाने तयारी गरौं
चितवन, २४ पौष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको दावी गरेका छन् ।
बुधबार काठमाडौँमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘अहिले टुंग्याउन कठिन भएको राजनीतिले नै हो । राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन ।’
अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन अवस्था नरहेको ‘प्रचण्ड’को भनाइ थियो ।
‘पीडितहरूले पटक पटक यो विषयलाई उठाइराख्नू, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नू । किनकि अन्तिममा चाहिँ त सडक नै हुने हो की जस्तो मलाई,’ ‘प्रचण्ड’ले भने, ‘अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो । त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन । त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ ।’
तर कानुनी भन्दा पनि राजनीतिक विषयका कारण शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगिन बाँकी रहेको भन्दै उनले माओवादीलाई तह लगाउने अन्तिम अस्त्र यही बाँकी भएकाले नटुंग्याउन जोड दिइएको बताए ।
‘एउटा प्रवृत्ति यो बिजनेस किन टुंग्याउनु भन्ने छ । अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुंग्याउनु र ? माओवादी सिद्ध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौँला भन्ने छ,’ अध्यक्ष ‘प्रचण्ड’ले भने ।