बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन, २८ पौष । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।
खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्याएको थियो । ठाकुरबाबा नगरपालिकाका मेयर तिकराम लम्सालले बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीसहितकाे टाेली लिएर बाघले आक्रमण गरेकाे ठाउँदेखि झन्डै ७ सय मिटरभित्र गएर शव ल्याएकाे बताए । शव पाेस्टमार्टमका लागि सदरमुकाम गुलरिया लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशाेक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्तीसहित प्राविधिक टाेली खटिसकेकाे छ । ढाटलगायतका अन्य प्रविधिको प्रयाेगबाट बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।