विपक्षी दलहरूले मोर्चाबन्दी गरेर भ्रम फैल्याइरहेका छन् : महेश बर्तौला
चितवन, १५ माघ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी दलहरूले मुलुकमा भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् ।
आज संसदीय दलको बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमण गरिरहेको बताए । उनले एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरूले आगामी अधिवेशनमा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिइने बताए । सांसदहरू संसदीय काम र प्रक्रियाहरूलाई आफ्नो पहिलो दायित्व र जिम्मेवारी ठानेर बैठकमा उपस्थित हुनुपर्ने उनले बताए ।
उनले भने, ‘नेकपा एमाले यतिबेला सरकारको नेतृत्व गरिरहेको छ । सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरूले यो आगामी अधिवेशनमा संसदमा खेल्नुपर्ने भूमिकाका बारेमा मुख्यगरी केन्द्रित रहेर छलफल गर्नेछौँ । सांसदहरू संसदीय काम र प्रक्रियाहरूमा मेरो पहिलो दायित्व र जिम्मेवारी हो भन्नेकुरा यो बैठकको हाम्रो निष्कर्ष हुन्छ ।’