औद्योगिक क्षेत्र सुधार गर्दै सरकार
चितवन, २५ माघ । सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित आठौँ नवलपुर महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले औद्योगिक क्षेत्रमा आएको शिथिलतालाई सुधार गर्न सरकारले काम गरिरहेको बताएका हुन् ।
नेपालको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदानलाई कसरी वृद्धि गर्ने, स्रोत र सम्भावनालाई कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारका गतिविधि केन्द्रित रहेको उनको भनाइ छ ।
मन्त्री भण्डारीले भने, “रोजगारीका सम्भावना, साना, लघु, घरेलु उद्योगलाई अगाडि बढाउँदै उद्यमशीलता विकास गर्न सकेनौँ भने हाम्रो अर्थतन्त्र उठ्न सक्दैन, त्यसैले हाम्रा उद्योग, उत्पादन र व्यावसायिकतालाई अगाडि बढाउने विषयलाई केन्द्र भागमा राखेर सरकारले आफ्नो गतिविधि बढाएको छ ।”
वित्तीय क्षेत्रमा ब्याजदर एक अङ्कमा झरेका बेलामा लगानी प्रवद्र्धन हुन नसकेको भन्दै सरकारले द्रुतमार्गबाट केही कानुनहरू संशोधन गर्न लागेको उनले जानकारी दिए ।
उनले धौवादी फलाम खानी राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई सञ्चालन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए ।