औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्छ : अध्यक्ष प्रचण्ड
चितवन, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन् ।
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय समितिको आज यहाँ आयोजित तेस्रो पूर्ण बैठकमा उनले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकीकरणको बाटो समात्नुपर्ने बताए । त्यसका लागि आफ्नो पार्टीबाट जितेका स्थानीय सरकारका प्रतिनिधिलाई भेला गरेर समाजवादको अभ्याससम्बन्धी प्रशिक्षणको व्यवस्था गरिएको उनले बताए ।
‘कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको यात्रा अघि बढाउनुपर्छ’, अध्यक्ष दाहालले भने, ‘स्थानीय उत्पादनको वृद्धि र प्रशोधन तथा साना उद्योगको स्थापनामार्फत रोजगारी बढाउनेतर्फ केन्द्रित हुनुपर्छ ।’