ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन : प्रचण्ड
चितवन, ०४ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारमा सहभागी हुने कुनै नीति नभएको बताएका छन् ।
सोमबार काठमाडौंमा राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तकको विमोचन गर्दै प्रचण्डले सरकारमा जाने कुनै नीति नलिएको र यसबारे कुनै छलफल समेत नभएको बताएका हुन् । प्रचण्डले मुलुकमा कुनै संकट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरू तयार रहे पनि यही सरकारमा सामेल हुन भने नसकिने स्पष्ट पारे ।
कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्दै बाहिर आएका चर्चामा सत्यता नरहेको उनले बताए । उनले कांग्रेस–एमालेले भ्रष्टाचारीलाई बचाउने उद्देश्यले सरकार बनाएको भन्दै वर्तमान सरकारप्रति सुरुदेखि नै विमति रहेको धारणा राखे ।
प्रचण्डले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भएको भन्दै सबै मिलेर त्यसको प्रतिवाद गरेर उपलब्धिलाई जोगाउनुपर्नेमा जोड दिए । राजावादीको क्रियाकपाल संविधानविपरीत भएको र जनतालाई फेरि एकचोटि रैती बनाउनेतिर प्रेरित रहेको उनको भनाइ छ ।