पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली,कोइरालालाई श्रद्धाञ्जली अर्पण
प्रकाशित मिति: सोमबार, चैत्र १८, २०८१ | १४:१०:३३
चितवन, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।
हिजो दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।
प्रधानमन्त्री ओली पुग्दा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि थिए ।
ओलीले उनीहरूसँग केही बेर भलाकुसारी गरे । साथै, कार्यालयभित्र पसेर गत चैत १५ गते भएको आगजनीबाट पुगेको क्षतिको पनि अवलोकन गरेको कार्यालय सचिव रामकुमार भट्टराईले बताए ।
नेकपा एमालेलाई विभाजित गर्दै २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको थियो । सो पार्टीको कार्यालयमा ओलीले पहिलोपटक पाइला टेकेपश्चात् दुई दलबीच सम्बन्ध सुधारको संकेत देखिएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १८, २०८१ |
१४:१०:३३
3367



















