तीनकुने घटनामा संलग्नलाई पक्राउ गर्ने क्रम जारी छः गृहमन्त्री लेखक
चितवन, २९ चैत । गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रर्दशनका क्रममा तोडफोड र आगजानी लगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए।
उक्त प्रर्दशनमा मुख्य आरोपी दुर्गा प्रसाइलाई पक्राउ गरिएको जानकारी दिँदै गृहमन्त्री लेखकले घटनाका अन्य आरोपीहरु पनि पक्राउ पर्ने क्रम जारी हरेको बताए।
शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले उक्त घटनामा अरोपित पक्राउ गर्ने क्रम र अनुसन्धानको क्रम जारी रहेको जानकारी दिए ।
तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको बताउँदै उहाँले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने जानकारी दिए।
“ घाइतेलाई अस्पतालहरुमा पुगेरै मैले भेटेको छु,’ उनले भने–“ घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहत स्वरुप रु दश/दश लाख दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ ।” उनले तीनकुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या समेत गरे । “ लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी उचित हुदैन ।” उनले भने–“ हिन्दु धर्म जस्तो उत्कृष्ठ धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्नुहुँदैन ।”
गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भएपनि लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्नेमा जोड दिए ।
तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको मन्त्री लेखकको भनाई छ । “ यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर रहेको पनि जानकारी गराउँछु ।” उनले भने–“ घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतंक र अराजकता फैलाउने आपराधिक कार्य हो भन्ने कुरामा विवाद हुन सक्दैन भन्नेमा प्रष्ट छु, ।”























