वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरुको उद्धारका लागि सरकारले काम गरेन : ज्ञानेन्द्र शाही
चितवन, २८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरुको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् । उनले आजपनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भएपनि वैदेशिक रोजगारमा रहेका नागरिकहरुको श्रमको सम्मान गर्न नसकेको आरोप लगाए ।
उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरुको तलबभत्ता विदेशबाट पठाइएको रेमिटेन्सले धानेको छ हामीले नुनको सोझो पर्दैन ? भन्दै प्रश्न गरे । वैदेशिक रोजगारीको नाममा आजपनि लाखौं मानिसहरु दलालबाट ठगिएको उनको भनाइ छ । वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक कुटनीतिक पहल गर्न नसकेको उनको आरोप छ ।