बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
चितवन, ०६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल जारी रहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्री ओली र देउवाबीच सोमबार साँझ भेट हुने भनिएको थियो । त्यहीँ अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक पनि स्थगित गरेका थिए । तर, कांग्रेस सभापति देउवाले गभर्नरका विषयमा कुरा गर्न अब आवश्यक नरहेको र त्यसका लागि नभेट्ने भनेपछि भेट टरेको थियो ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । तर, प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको थियो । प्रतिनिधिसभा बैठकमा अस्वस्थताका कारण उपस्थित नभएका प्रधानमन्त्री ओलीले बालुवाटारमा कांग्रेस सभापति देउवालाई भेटेका हुन् ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच गभर्नर नियुक्ति, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्र बैंकको गभर्नर पद २४ चैतदेखि रिक्त छ ।