प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित
चितवन, १३ जेठ । प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटका लागि स्थगित गरेका हुन्।
आजको बैठक सुरू भएलगत्तै सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए।
सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई रु ५० लाखदेखि रु तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए । यस प्रकरणमा गृहमन्त्री रमेश लेखककाे नामपनि मुछिएकाले उनले राजीनामा दिनुपर्ने पुनकाे भनाइ छ ।
“गृहमन्त्री लेखकको सचिवालय यसमा जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्री मातहत रहेकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुपर्छ, उहाँले राजीनामा दिनुपर्छ, राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि बढ्दैन,” सांसद पुनले भने।
अवरोधका बीच सभामुखले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएका थिए । तर, विपक्षी दलका सांसदले नारावाजी नै सुरु गरेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरिएकाे घोषणा गरे ।