संसद अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादीबीच सहमति
चितवन, ३० जेठ । संसदको गतिरोध हटाउने विषयमा प्रमुख तीन दल कांग्रेस-एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ ।
शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएको हो।
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबार दिउँसो २ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने बताउँदै प्रतिपक्षीले १३ जेठयता सदन अवरुद्ध पार्दै आइरहेका थिए।
रास्वपाले भने सहमतिमा हस्ताक्षर गरेकाे छैन ।
यस्तो छ दुईबुँदे सहमति
१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।
२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।