कानुनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्नु गलत : चन्द्र भण्डारी
चितवन, ०४ साउन । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रविधिको बढ्दो विकासले आम मानिसको सामाजिक जीवनलाई चुनौती दिँदै गएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भण्डारीले कानुनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्न नहुनेमा जोड दिए ।
उनले सञ्चार क्षेत्रलाई स्वनियम र आर्टिफियिल इन्टेलिजेन्स (एआई)को सदुपयोग गर्न प्रोत्साहित गरेर विधेयक ल्याउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीले अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्न सकेनौँ भने त्यसले मानव जीवन नै समाप्त पार्न सक्छ । हामीले तथ्यपरक न्युजलाई कसरी ल्याउने ? यो विषयमा सोच्नुपर्यो । यसलाई पाठ्यक्रममा राखेर हुन्छ कि कसरी भन्ने कुरामा राज्य गम्भीर हुनुपर्यो । एउटा मिडियाले दिएको न्युज, सत्य, उत्तरदायी हुने कि नहुने ? सञ्चार क्षेत्रले अधिकार खोज्दा जिम्मेवारी लिनुपर्ने कि नपर्ने ? सञ्चार सम्प्रेषण र कानुनी अधिकार गर तर अरूलाई क्षतविक्षत नगर भन्ने अधिकार दिनुपर्यो । अहिले जे पनि गरिदिएको छ । यसको लागि यो विधेयक आएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । विधेयकमा कर्मचारीको मात्र कुरा राखेको छ । सबै विधेयकमा यस्तै छ । यहाँ त समाचारको विषयमा पो हुनुपर्यो ।’





















