भूमि विधेयक कार्यान्वयनका लागि प्रदेशको सहमति अनिवार्य : विश्वप्रकाश शर्मा
चितवन, १२ साउन । नेपाली कांग्रेसकका महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक प्रदेश सरकारसँगसमेत सम्बन्धित रहेको बताएका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको छलफलमा उनले भने, ‘प्रदेशले अपनत्व नलिए कार्यान्वयन नहुनसक्छ । यो विषयमा यो समितिले ख्याल गर्नुपर्छ भन्ने आग्रह गर्दछु । विपक्षी दलहरूले समेत यो विधेयक प्रदेश र स्थानीय तहसँग सम्बन्धित रहेको भनेर प्रश्न गरिरहेका बेला कांग्रेस महामन्त्री शर्माले प्रदेशले अपनत्व लिने वातावरण बन्नुपर्ने बताएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादव पनि प्रस्तावित भूमि विधेयकले संविधानको मर्म र भावनालाई आत्मसात् नगरेको बताउँछन् । सोमबार समितिको बैठकमा बोल्दै उनले भूमि र वन प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने विषय भएको बताए ।


















