नेपाल मेलबर्नसँग पराजित
चितवन, ०२ भाद्र । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा समेत हार व्यहोरेको छ । डार्विनस्थित टिआइओ रङ्गशालामा आज भएको खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो । यससँगै नेपालले खेलेका तीनै खेलमा हार बेहोरेको छ । यसअघि नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग पराजित भएको थियो ।
१७६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा आठ विकेट गुमाएर १४४ रनमै समेटियो । ओपनर आसिफ शेखले ४९ बलमा तीन चौका र एक छक्कासहित ५३ रन बनाएर अर्धशतक पुरा गरे पनि जितका लागि पर्याप्त भएन । कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ र कुशल मल्लले ११ रन जोडे भने अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् । मेलबर्नका अस्टिन अन्लेजार्क र डग वारेनले दुई–दुई विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले सात विकेट गुमाएर १७५ रन जोडेको थियो । ब्लेक म्याकडोनाल्डले ७४ तथा थोमस रोजर्सले ६५ रन बनाउँदै टोलीलाई बलियो योगफलतर्फ डोर्याए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र शाहब आलमले एक–एक विकेट हात पारे ।

















