अस्कर अवार्डमा नेपाली चलचित्र आवेदन खुला
चितवन, १२ भाद्र । विश्वकै प्रतिष्ठित ‘द अस्कर अवार्ड’मा नेपालको तर्फबाट पठाइने चलचित्र छनोटका लागि आवेदन खुला गरिएको छ।
‘विदेशी भाषी चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपालमा गठित ‘विदेशी भाषाका चलचित्र छनोट समिति (नेपाल)’ले एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेसले तोकेका मापदण्ड पूरा गर्ने उत्कृष्ट चलचित्र सिफारिस गर्ने जनाएको छ।
सन् २०२६ मार्च १५ मा हुने ९८औँ एकेडेमी अवार्डमा सहभागी हुन २०८१ असोज १५ देखि २०८२ असोज १४ भित्र सार्वजनिक प्रदर्शनमा आएका वा आउने नेपाली चलचित्र योग्य हुनेछन्। चलचित्र दर्ताका लागि भदौ २० गतेसम्मको समय तोकिएको छ।
समितिका अनुसार आवेदन दिने चलचित्रसँग सेन्सर प्रमाणपत्र, कम्तीमा सात दिन सार्वजनिक प्रदर्शन भएको प्रमाण (विज्ञापन वा समाचार कटिङ), ओटीटी रिलिज भएमा त्यसको प्रमाणपत्र, ३५ एमएम वा ७० एमएम संस्करण, २०४८–१०८० पिक्सेलसम्मको प्रोजेक्टर रेजोल्युसन भएको भिडियो उपलब्ध हुनुपर्नेछ।
त्यस्तै, ५.१ वा ७.१ अडियो फर्म्याट, निर्देशक–निर्मातासहितको क्रेडिट सूची, अंग्रेजी सबटाइटल, चलचित्रको संक्षिप्त सारांश, निर्देशकको फिल्मोग्राफी र फोटो, ३–५ स्थिर फोटा र ६०० डीपीआई टिफ फर्म्याटमा रिलिज पोस्टर अनिवार्य रूपमा बुझाउनुपर्ने समितिले जनाएको छ।
























