आज इन्द्रजात्रा पर्व मनाइँदै
प्रकाशित मिति: शनिबार, भाद्र २१, २०८२ | ९:४५:२२
चितवन, २१ भाद्र । देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा सुरु हुन्छ । यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा छ ।
इन्द्र ध्वजलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ, जसको फेदमा भैरवको पूजा गर्ने प्रचलन छ। यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा मनाइने गरिएको मानिन्छ । पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ ।
भक्तपुरको चितपोल जङ्गलमा भाद्र शुक्ल द्वितीयाका दिन तान्त्रिक विधिबाट पूजित बोकाले छोएको रूख काटेर ल्याइन्छ । त्यसलाई भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक लिङ्गो तयार पारिन्छ ।
प्रकाशित मिति : शनिबार, भाद्र २१, २०८२ |
९:४५:२२
3433



















