बीपी राजमार्गमा अस्थायी सडक बनाइँदै
चितवन, २१ असोज । बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्डहरूमा यातायात सेवा अझै अवरुद्ध वा प्रभावित बनेको छ। प्रहरीका अनुसार, मकवानपुरबाट काठमाडौँ जोड्ने मुख्य सडकहरू — हेटौंडा–सिस्नेरी–काठमाडौँ र हुमाने–फाखेल–काठमाडौँ खण्डमा हाल एकतर्फी मात्र सवारीसाधन सञ्चालन भइरहेको छ। मकवानपुरबाट काठमाडौँतर्फ आउने सवारीहरू सिस्नेरी–दक्षिणकाली मार्ग हुँदै चलाइँदै छन् भने काठमाडौँबाट मकवानपुरतर्फ जाने गाडीहरू फाखेल मार्ग प्रयोग गरिरहेका छन्। ट्राफिक प्रहरीका अनुसार पहिरो पूर्णरूपमा नहटेसम्म वैकल्पिक व्यवस्थाबाटै आवतजावत गराइनेछ।
कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा र भन्याङडाँडा, बकैया गाउँपालिका–११ सिमात र घट्टेपाखामा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, बुलढुङ्गा र मङ्गलटार खोलामा आएको बाढीले सडक कटान गरेपछि यातायात बन्द छ। कोशी राजमार्गमा सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरुणमा खसेको पहिरोका कारण पनि सवारी सञ्चालन रोकिएको छ।
पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा पहिरो खसेर सडक बन्द भएको छ भने सिद्धिचरण राजमार्गमा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६ र ७ को सीमानामा रहेको भङ्डारे खोलामा आएको लेदोयुक्त बाढीले सम्पूर्ण यातायात आवतजावत अवरुद्ध गरेको ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पनि पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ। पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने द्रुतमार्ग तमोर करिडोर सडक पनि विभिन्न स्थानमा अवरुद्ध भएको छ। यसबीच, काभ्रेको रोशी खोलामा आएको बाढीपहिरोले क्षति पुर्याएको बीपी राजमार्गमा अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ। दुई दिनको तीव्र बाढीपछि खोला शान्त भएपछि हिजोदेखि डाइभर्सन निर्माण कार्य अगाडि बढाइएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी मोडेर वैकल्पिक सडक बनाउन थालेको जनाएको छ। सिन्धुली–काभ्रे खण्डको नमोबुद्धको चौकीडाँडासम्मका धेरै स्थानमा सडक बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। अहिले वैकल्पिक मार्गका रूपमा खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाडौँ आवतजावत भइरहेको छ।





















