एमाले प्रतिनिधिसभा पुनःस्थापनाकाे पक्षमा
चितवन, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने आफ्नो धारणा व्यक्त गरेका छन्। एमालेको भक्तपुर जिल्ला कमिटीले आज गुण्डुमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनामा आफ्नो पार्टी दृढ रहेको र यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गरे।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले भने कि सरकारले निर्वाचन आयोजना गर्ने हो भने सबै राजनीतिक दलको विश्वास जितेर सबैलाई सहभागी गराउनुपर्नेछ। उनले थपे, “यतिबेला राष्ट्रलाई एकता र स्थिरता आवश्यक छ। लोकतान्त्रिक शक्तिहरूले एकत्रित भएर शान्ति, सुव्यवस्था कायम गर्दै देशलाई समृद्ध बनाउनु पर्छ। सरकारले यसको लागि सकारात्मक र अनुकूल वातावरण निर्माण गर्नुपर्छ।”
कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा समस्या उत्पन्न हुँदा पार्टीभित्र विवाद सिर्जना नगरी एकता र सहमतिको वातावरण निर्माण गर्नु आवश्यक रहेको बताए। साथै, बागमती प्रदेश कमिटीका इञ्चार्ज डा. राजन भट्टराई, पोलिटब्यूरो सदस्य महेश बस्नेत लगायतले लोकतन्त्र र मुलुकको रक्षा गर्न एमालेलाई एकताबद्ध र बलियो शक्ति बनाउनुपर्नेमा जोड दिए।
यसअघि, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो। त्यसपछि प्रतिनिधिसभा विघटन भएको र आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिएको थियो।



















