दुई जना काठमाडौँबाट पक्राउ
चितवन ,१३ कार्तिक । काठमाडौँको तारकेश्वर नगरपालिका–५, गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाई लुटपाट गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका–५ का २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली दूधौली नगरपालिका–१० का २३ वर्षीय मनोज चौधरी रहेका छन्। दुबै जना हाल बूढानीलकण्ठमा बस्दै आएका थिए।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीका अनुसार, गएराति तारकेश्वर–५ गोलढुङ्गा फूलबारी गेट नजिक गोकर्णेश्वर नगरपालिका–५ का १९ वर्षीय श्रवण तामाङ सडक किनारामा मोटरसाइकल (बा प ०२–०५० प १६०२) रोकेर बसिरहेका बेला बा ४२ प ४०६९ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले धारिलो हतियार देखाई उनको कालो झोला लुटी फरार भएका थिए।
घटनापछि प्रहरी वृत बालाजु र अस्थायी प्रहरी चौकी तिनपिप्लेबाट खटिएको टोलीले पीडितले दिएको विवरणका आधारमा खोजतलास गर्दै दुबै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा प्रहरीले लुटिएको झोलासहितका सामान र प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको जनाएको छ।
बरामद सामानमा पीडितको बिलबुक, मोबाइल चार्जर, घरको चाबी, ‘रोलेक्स’ लेखिएको घडी, नगद रु ३,०००, एक थान खुकुरी, ‘रेड्मी’ मोबाइल, ‘बोबो’ लेखिएको कालो झोला, ‘ट्रमाडोल’ लेखिएको ३० थान लागुऔषध र बा ४२ प ४०६९ नम्बरको रातो–कालो मोटरसाइकल समावेश छन्।
प्रहरीले पक्राउ परेकाहरूलाई प्रहरी वृत बालाजुमा राखी विस्तृत अनुसन्धान थालेको र घटनाबारे थप तथ्य संकलन भइरहेको जनाएको छ।


























