गणेशमान सिंहको १११औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै
चितवन, २४ कार्तिक । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा त्याग र साहसका प्रतीक गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमसहित मनाइँदै छ। नेपाली राजनीतिमा निष्ठा, इमानदारी र समर्पणको उदाहरणका रूपमा चिनिएर सिंह सबै दल तथा वर्गमा सम्मानित व्यक्तित्व बनेका थिए। २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि उनले आफ्ना सहकर्मी कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै अद्वितीय त्यागको उदाहरण प्रस्तुत गरेका थिए।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहको निधन विसं २०५४ असोज २ गते भएको हो। खानदानी परिवारमा जन्मिए पनि उनले प्रजा परिषद्मा आवद्ध भएर राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेले। आन्दोलनका क्रममा उनी जेल बसे, र विसं २००७ अघि भद्रगोल जेलबाट भागेर भारत पुगे जहाँ उनले बिपी कोइरालासँग मिलेर नेपाली राष्ट्रिय कांग्रेसको राजनीतिक यात्रालाई बलियो मोड दिए।
विसं २००७ को क्रान्तिमा सिंह अग्रपंक्तिमा उभिएर वीरगञ्ज मोर्चामा सशस्त्र संघर्षसमेत गरे। प्रजातन्त्रको पुनर्बहालीका लागि उनको निरन्तरता जारी रह्यो। पहिलो निर्वाचनपछि बनेको सरकारमा उनी वरिष्ठ मन्त्री भए। तर विसं २०१७ मा प्रजातन्त्र खोसिएपछि उनले आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए।
विसं २०२५ मा जेलमुक्त भएपछि बिपी कोइरालासँग भारतमा रहेर संगठन विस्तारमा लागे र विसं २०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्के। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, २०३६ को विद्यार्थी आन्दोलन, जनमत सङ्ग्रह र २०४२ को सत्याग्रहमा समेत उनले अग्रणी भूमिका खेले। विसं २०४६ को जनआन्दोलनमा कम्युनिष्ट दलसँग सहकार्य गर्दै आन्दोलनको नेतृत्वकर्ता र सर्वोच्च कमाण्डरको भूमिकामा उनी सबैका प्रिय बने।
विसं २०६१ भदौ २४ गते सुन्दरीजल बन्दीगृहलाई बिपी संग्रहालयमा रूपान्तरण गरिएको थियो। नेता सिंहको जयन्तीका अवसरमा नेपाली कांग्रेससहित भ्रातृ संस्थाहरूले आज विभिन्न कार्यक्रम आयोजना गरेर उनको योगदानको स्मरण गरिरहेका छन्।



















