सर्भर नचलेपछि पाल्पामा मतदाता दर्ता ठप्प, सेवाग्राही दिनभर लाइनमै
चितवन, २८ कार्तिक । सर्भर नचलेपछि जिल्ला निर्वाचन कार्यालय पाल्पामा नयाँ मतदाता नामावली दर्ता गर्ने कार्य ठप्पजस्तै बनेको छ।
बिहीबार अघिसम्म सामान्य रूपमा चलिरहेको सर्भर हिजो र आज अचानक काम नलागेपछि सेवाग्राही घण्टौँ लाइनमा बस्न बाध्य भएका छन्, भने कर्मचारीहरू पनि अत्यधिक सास्ती खेपिरहेका छन्।
मतदाता परिचयपत्र बनाउन उत्साहका साथ विभिन्न गाउँबाट आएका सेवाग्राही निर्वाचन आयोगको वेबसाइट बन्द भएकै कारण निराश हुँदै घर फर्किन बाध्य भएका छन्। निस्दी, रामपुर, तिनाउ, छहरा, पूर्वखोला, माथागढी, रम्भा, रिब्दीकोट लगायतका पालिकाबाट आएका नागरिक अझ बढी प्रभावित भएका छन्।
केही दिनअघि सहज रूपमा सेवा प्रदान गर्दै आएको जिल्ला निर्वाचन कार्यालयले अहिले थोरै सेवाग्राही हुँदा पनि सेवा दिन मुस्किल परेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताउनुभयो। राष्ट्रिय परिचयपत्र बनाइसकेकाहरूले घरमै बसेर फोटोसहितको मतदाता नामावली बनाउन सकिने भनिए पनि आयोगको वेबसाइट नै नचल्दा कार्यालयमा सेवाग्राहीको भीड अत्यधिक बढेको छ। भीड व्यवस्थापनका लागि प्रहरीले समेत खटिनु परेको छ।
टाढाबाट आएका धेरै नागरिक हिजो काम नबनेपछि तानसेनमै बास बसेका थिए। तर आज पनि साइट नचल्दा सेवाग्राहीहरू निराश हुँदै घर फर्किन बाध्य भएका छन्। पाल्पाका स्थानीय भए पनि अहिले रुपन्देही, नवलपरासी, काठमाण्डौ लगायतका स्थानबाट सेवा लिन आएका नागरिकहरू सबैभन्दा बढी मर्कामा परेका छन्।
सेवाग्राहीहरूले सरकारलाई मतदाता नामावली दर्ता प्रक्रिया व्यवस्थित नबनाएसम्म सेवा अस्थायी रूपमा रोक्नुपर्ने माग गर्दै सर्भर सुचारु भएपछि मात्र सेवा दिनुपर्ने सुझाव दिएका छन्।
उनीहरूले जिल्ला प्रशासन, जनप्रतिनिधि, राजनीतिक दल, तथा सरोकारवाला निकायहरूले समस्याप्रति कुनै चासो नदेखाई मूकदर्शक बनेको आरोप पनि लगाए।



















