राष्ट्रियसभा निर्वाचन तालिका सार्वजनिक : माघ ११ गते मतदान हुने
चितवन, १७ मंसिर । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। स्वीकृत कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली सार्वजनिक गरिनेछ। दाबी–विरोध तथा उजुरीहरूको छानबिनपछि पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ।
उम्मेदवार मनोनयनका लागि पुस ২৩ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ। उम्मेदवारविरुद्ध उजुरी पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दिन सकिनेछ। पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सकिनेछ भने दिउँसो १ बजेदेखि २ बजेसम्म अन्तिम उम्मेदवार सूची प्रकाशित हुनेछ।
पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट वितरण गरिनेछ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित मतदान केन्द्रहरूमा हुनेछ। फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल समाप्त हुँदैछ। कार्यकाल समाप्त हुन लागेकामध्ये बामदेव गौतम राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले बाँकी १८ सिटका लागि निर्वाचन गरिन लागिएको हो।



















