भदौ २३ र २४ पछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको, संविधान र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता : अध्यक्ष ओली
चितवन, २० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनापछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको दाबी गरेका छन्। शनिबार नेकपा एमालेको ११औं महाधिवेशनको लागि नवयुग ई-बुलेटिनको शुभारम्भ गर्दै ओलीले प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा फर्काउनु आजको आवश्यकता रहेको बताए। उनले भने, “देशमा फेरि एक पटक प्रतिगमन भएको छ, यो देशको दुर्भाग्य हो। यसको महिमामण्डन गर्न बुद्धिहीनता मात्र हो। आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैन।”
ओलीले अहिलेको सरकारलाई विधि प्रक्रिया बिना कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरेको आरोप लगाए, र यसलाई लोकतन्त्रको उपहास भने। उनले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे। अध्यक्ष ओलीले पुराना पार्टीहरूको अस्तित्व समाप्त भएको सोच्नु नदिने आग्रह गर्दै भने, “फेरि आगो लगाएर सरकार बनाउने, आगोकै भरमा सरकार बनाउने, के पार्टीहरूकै सरकार बनाउने हो?”
उनीले सरकारले छानबिन गर्नका लागि बनाएको आयोगलाई जनतालाई झुक्याउने बुख्याचा भएको आरोप लगाउँदै स्पष्ट पारे, “यो आयोग अरुको काम गर्न तयार गरिएको संयन्त्र हो।” उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्ना विरुद्ध प्रमाण तयार गर्न चुनौती दिएका छन्। अध्यक्ष ओलीले सोधे, “आफूभन्दा साढे तीन महिना कान्छो प्रधानमन्त्री कुन जेनजीको सरकार बनाउँछन्?” उनले थपे, “जान्नु न, सुन्नु न, चुनाव लड्नु न होर्नु, कताको सरकार?”
ओलीले सरकारलाई अनाडी सरकार भन्दै, त्यसले अनधिकृत कार्य गरेको आरोप लगाएका छन्। उनले सरकारलाई चुनाव गराउने उद्देश्यले बनेको भए, चुनावको वातावरण बनाउनको लागि कदम चाल्न चुनौती दिएका छन्। उनले स्पष्ट पारे, “जेलका अपराधी र प्रहरीका हतियार बाहिर राखेर चुनाव हुन सक्दैन।” ओलीका अनुसार, राजनीतिक दलहरूमा वैरभाव र अपराधीहरूको उपस्थितिका कारण चुनाव हुन नसक्ने अवस्था रहेको छ।
नेकपा एमालेलाई देश, जनता, लोकतन्त्र, सुशासन, विकास र संविधानको पक्षमा निरन्तर गतिशील पार्टीको रूपमा प्रस्तुत गर्दै उनले भने, “एमालेलाई अपडेट गर्न जरुरी छ, देश र दुनियाँको ध्यान अहिले एमालेतर्फ छ।” उनीले थपे, “देश अहिले विभाजित अवस्थामा छ, त्यसैले हामीलाई एमालेका क्रियाकलापलाई सम्प्रेषित गर्न सघन ढंगले काम गर्नुपर्ने अवस्था छ।” उनले भने, “सत्य सम्प्रेषण सजिलो काम होइन, तर त्यो नेकपा एमाले र यसको मुखपत्रले गर्छ।”
अध्यक्ष ओलीले नेकपा एमालेलाई देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र स्वाभिमानको पहरेदारको रूपमा प्रस्तुत गर्दै लोकतन्त्रको पक्षमा प्रतिबद्धता व्यक्त गरे। उनले भने, “नेपाललाई जातीय आधारमा धुजा-धुजा पार्न खोज्दा हामीले अहिलेको संविधान जोगाएका हौँ। हामीले हिंसावादी र आतङ्ककारीलाई पराजित गर्दै लोकतन्त्रलाई बलियो बनाउने काम गरेका छौं।”
अन्ततः ओलीले देशको बिग्रिएको अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउने काम नेकपा एमालेले गरेको दाबी गर्दै, नेपालको भूमिकालाई विश्व मञ्चमा स्थापित गर्ने कसम खाएका छन्।





















