भ्रष्टाचारविरुद्धको लडाइँ निरन्तरको संघर्ष हो : संयोजक दाहाल
चितवन, २३ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्धको लडाइँलाई एक दिनको अभियान नभई निरन्तरको संघर्षको रुपमा लिनुपर्ने बताएका छन्। २२औं अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवसको अवसरमा प्रचण्डले सुशासनका पक्षधर सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई शुभकामना प्रकट गर्दै भ्रष्टाचार समाप्त गर्न राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य रहेको उल्लेख गरेका छन्।
संयुक्त राष्ट्रसंघको भ्रष्टाचारविरुद्धको महासन्धि सन् २००३ मा पारित भएपछि प्रत्येक वर्ष डिसेम्बर ९ मा यो दिवस मनाइन्छ। नेपालले सन् २०११ मा उक्त महासन्धिलाई अनुमोदन गरी सुशासन र पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता जनाएको थियो। प्रचण्डले भने, “प्रधानमन्त्रीका रुपमा मेरो कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनाएका थियौं। सुशासनको पक्षमा हामीले चालेका दृढ कदमका कारण दलाल, विचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकारलाई असफल बनाउन षड्यन्त्र गरिएको थियो।” त्यससँगै उनले भूटानी शरणार्थी प्रकरणलगायतका ठूला भ्रष्टाचार काण्डहरूको छानबिन बिना कुनै राजनीतिक आग्रह र पूर्वाग्रहको गरेकाे जानकारी दिए।
“प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका लागि महत्वपूर्ण कदमहरू चालिएका छन्। हालसम्मका सबै चर्चित काण्डहरूको साथै २०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति छानबिनको माग मैले संसदमा गरिसकेको छु र आज यो दिवसको अवसरमा फेरि त्यो मागलाई दृढतापूर्वक दोहो¥याउँछु,” उनले भने।





















