कर्मचारीमा जनसेवाको भावना भन्दा समय कटाउने प्रवृत्ति छ : मुख्यमन्त्री कँडेल
चितवन, २४ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकता अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्।
आज प्रदेश योजना आयोगद्वारा वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले कर्णालीको अवस्था अन्य प्रदेशहरूको तुलनामा कमजोर रहेको र काम गर्ने पुरानै मानसिकताका कारण जनतामा निराशा फैलिएको बताएका छन्।
उनले भने, “सरकार घोषणा भए पनि र मन्त्रीको गाडी गुड्दैमा मात्र कर्णालीको भलो हुँदैन। नतिजा देखिने गरी काम हुन नसक्दा निराशाजनक अवस्था छ।”
मुख्यमन्त्री कँडेलले विकास र प्रशासन सञ्चालनमा पुरानै संरचना र मानसिकता हाबी भएको बताए। उनले थपे, “सङ्घीयता कार्यान्वयनमा आए पनि प्रशासनिक संरचना र जनशक्ति व्यवस्थापन अझै केन्द्रीकृत नै छ। हामीसँग आवश्यक तहको जनशक्ति छैन र आएका जनशक्तिलाई पनि पूर्ण अधिकार र मान्यता दिइएको छैन।”





















