आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै
चितवन, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अपेक्षा गरिएको छ। पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।
उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दा बढी कला र संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका प्रमुख पार्टीका अध्यक्ष एवं प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ।
महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न देशका कुटनीतिक नियोग र पार्टीका प्रतिनिधिहरूसँग शुभकामना सन्देशहरू प्राप्त भइरहेको जानकारी दिइएको छ। महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन २४ वटा जनसङ्गठनका ५०० भन्दा बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने छन्, भने १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी छ।
उद्घाटन समारोहको मञ्चमा लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका प्रमुख मन्दिरहरूलाई एकै स्थानमा देखाउने कलात्मक मञ्च निर्माण गरिएको छ। मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिनेछ जसले दूरदराजका सहभागीलाई पनि प्रष्ट देख्न र सुन्न मद्दत पुर्याउनेछन्।
साथै, मञ्च अगाडि २५,000 कुर्सी राखिएका छन् जसमा देशभरका नेता, मन्त्री, सांसद र कुटनीतिक नियोगका प्रतिनिधिहरूको लागि व्यवस्था गरिएको छ। तीन किलोमिटर टाढासम्म सुन्न सकिने ११५ उच्च गुणस्तरका साउन्ड सिस्टम पनि जडान गरिएको छ।
पार्टीको ११औं महाधिवेशन भएकाले, ११ वटा झण्डा राखिनेछन्, जसमा १० झण्डा सुरुमै फहराइनेछ र एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ।
उद्घाटन अघि गठ्ठाघर र जगातीबाट भव्य ¥याली गरेर आउने व्यवस्था गरिएको छ। साथै, सवारी साधनहरूको लागि कोटेश्वरदेखि गट्ठाघरसम्म र गठ्ठाघरदेखि नागरिक उडड्यन प्राधिकरणको खाली चौर र जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको छ।



















