नेकपा एमालेले पुरानै संरचनामा पार्टी कमिटी फर्काउने निर्णय
चितवन, २८ मंसिर । नेकपा एमालेले आफ्नो पार्टी कमिटीलाई पुनः पुरानै संरचनामा फर्काउने निर्णय गरेको छ। आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको बैठकले ११औं महाधिवेशनमा जान पुरानै विधान कायम गर्ने निर्णय गरेको हो।
केन्द्रीय कमिटीले अब एकजना अध्यक्ष, ५ जना उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव रहने व्यवस्था गर्ने निर्णय गरेको छ। यद्यपि, अब वरिष्ठ उपाध्यक्ष पद राखिएको छैन।
बैठकमा पोलिटब्युरोको एकतिहाई संख्या भएको स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्युरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय पनि गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विधान संशोधनको प्रस्ताव पेश गरेका थिए, जुन बहुमतले पारित भएको छ।
यसअघि भदौमा सम्पन्न विधान महाधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ सहित १५ सदस्यीय पदाधिकारी संरचना बनाउन विधान संशोधन गरेको थियो। साथै, २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरिएको थियो।



















