फागुन २१ को निर्वाचनको वातावरण बनिसकेको छ, सबै पक्ष तयारीमा : मन्त्री खरेल
चितवन, ०१ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताएका छन्। उनले आज निर्वाचन आयोगसँगको छलफलमा भने, “समग्र मुलुक निर्वाचनमा होमिएकाले निर्वाचन अब उत्सव महोत्वमा परिणत हुँदै गइरहेको छ।”
मन्त्री खरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार सबै सरोकारवाला पक्षलाई समाहित गर्दै जानुपर्ने महत्त्वपूर्ण कार्य भइरहेको जनाउँदै सरकारको तर्फबाट आयोगको भूमिकामा धन्यवाद व्यक्त गरे। उनले थपे, “संवेदनशील र चुनौतीपूर्ण अवस्थामा पनि आयोगले राम्रो भूमिका निर्वाह गरेको छ।”
निर्वाचनको विश्वासका बारेमा उनले भने, “निर्वाचन हुने विश्वास सबै सम्बद्ध पक्षमा तयार भइसकेको छ। आयोग, सरकार, सुरक्षा निकाय र राजनीतिक दल सबै तयारी अवस्थामा छन्। मतदाता पनि तयार छन्, छोटो समयमा आठ लाखभन्दा बढीले नामावलीमा नाम दर्ता गराउनु ऐतिहासिक हो।”
मन्त्री खरेलले राजनीतिक र कानुनी विषयमा पनि समान महत्त्व रहेको बताउँदै, “आयोगले उठाएका विषयमा सरकारले कानुनमन्त्रीको संयोजकत्वमा संवाद समिति गठन गरेको छ।”
प्रचार-प्रसार र मतदाता शिक्षा वितरणमा आयोगसँग सहकार्य गर्दै अघि बढ्ने तयारी रहेको बताउँदै उनले, गलत सूचना र समाचारको प्रभाव रोक्न प्रेस काउन्सिल नेपाल र अन्य निकायलाई आवश्यक व्यवस्थापनको निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्न साइबर ब्यूरो र प्रेस काउन्सिलसँग मिलेर काम गर्न आग्रह गरे। साथै, पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालना सुनिश्चित गर्न अनुगमन गरिने जानकारी पनि दिए।



















