सरकारले दलहरूसँग वान टु वान छलफल गर्नुपर्छ : महेश बस्नेत
चितवन, ०७ पुष । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दलहरूसँग वान टु वान छलफल गर्न सुझाव दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा पार्टीका तर्फबाट बोल्दै उनले भने, “औपचारिक च्यानलबाट दलहरूसँग वान टु वान छलफल गर्दा राम्रो हुन्छ। यस्ता फोरमहरूमा औपचारिक कुराकानी हुँदैन।”
बस्नेतले एउटा औपचारिक निर्णय गर्नु अघि अनौपचारिक होमवर्क गर्न आवश्यक रहेको बताउँदै सरकारलाई यस्तो सुझाव दिएका छन्। यसो गर्दा निर्वाचनको वातावरण तयार गर्न सकिने उनको भनाइ थियो।
जेनजीसँग सरकारले गरेको सम्झौताको सैद्धान्तिक पक्षमा आफूहरू सहमत भएता पनि, व्यवहारिक रुपमा कति कार्यान्वयन हुन्छ भन्ने कुरा ध्यान दिनुपर्ने उनले भने।
२०५६ सालदेखि उठाउँदै आएका विषय अहिले जेनजीले उठाएको र निर्वाचन सुधारका सन्दर्भमा निरन्तर छलफल भइरहेको उनले बताए। उनले प्रत्येक चुनावमा सुधारको कुरा गरिएपनि, यस पटक पनि सुधारको कार्यान्वयन नभएको भन्दै आगामी समयका लागि सुधारको आवश्यकता जनाए।




















