निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री खरेल
चितवन, ११ पुष । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएको समयमा चुनाव सम्पन्न हुने बताएका छन्।
बिहीबार पाँचखाल नगरपालिकाको अवलोकन गर्न गएका मन्त्री खरेलले सञ्चारकर्मीसँग कुरा गर्दै चुनावको लागि सरकारले वातावरण तयार पारेको र राजनीतिक दलहरूले पनि त्यसतर्फ आफ्नो कदम बढाएको जानकारी दिए। उनले सरकार निर्वाचन प्रक्रियामा पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।
मन्त्री खरेलले भने, “निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल छैन। देशको राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन अत्यन्त महत्वपूर्ण छ।”
सञ्चारमन्त्रीले थपे, “निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार प्रमुख राजनीतिक दलहरूसँग छलफल र अन्तरक्रिया गरेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरूको कार्यालयमा पुगेर छलफल गरिएको हो। यसका साथै, राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री र प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको बैठक पनि भएको छ, जसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ। दलहरू निर्वाचनका लागि तयार छन् र सरकार आवश्यक तयारीमा लागेको छ।”



















