शीर्ष तीन दलका नेतासँग प्रधानमन्त्री कार्कीको संयुक्त छलफल
चितवन, १२ पुष । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचनसम्बन्धी छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूबीच शीतल निवासमा भेटवार्ता भएको थियो।
त्यसैको निरन्तरताका रूपमा प्रधानमन्त्री कार्कीले आज अपराह्न ४ बजे तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन्। शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए।
यसअघि मन्त्री खरेल र कानुनमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका राजनीतिक दलका कार्यालयहरूको अनुगमन गर्नुका साथै दलका नेताहरूसँग छलफल गरेका थिए।
सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी गरे पनि विभिन्न दलहरूले शान्ति–सुरक्षालगायत विषयमा प्रश्न उठाउँदै आएका छन्। विशेषगरी नेकपा एमालेले आपत्ति जनाइरहेका बेला सरकारका मन्त्रीहरू दलका नेताहरू र पार्टी कार्यालयमा पुगेर निर्वाचनको वातावरण बनाउने प्रयासमा जुटेका हुन्।



















